स्वास्थ्य परिवार काम

कोरोना भनेको के हो र म यसको बारेमा के गर्न सक्छु ?

कोरोनाभाइरस वा कोरोना एक सानो कीटाणु हो (खुला आँखाले देख्न नसक्ने सानो) जसले मानिसहरूमा फैलिएर रोग सार्न सक्छ । कोरोनाले फ्लूका जस्ता लक्षणहरू ल्याउँछ जस्तै सुख्खा खोकी, सास फेर्न कठिनाइ, ज्वरो र शरीरको दुखाइ । कोरोनाले प्रायः श्वासप्रश्वास प्रणालीलाई प्रभावित पार्दछ । अधिकांशतः सङ्क्रमण खतरनाक हुँदैन, यसले निमोनिया (फोक्सोको गम्भीर सङ्क्रमण) निम्त्याउन सक्छ र गम्भीर अवस्थाहरूमा घातक पनि हुन सक्छ ।

जो कोही कोरोना सङ्क्रमित बन्न सक्छ । वृद्धावस्थामा मानिस र श्वासप्रश्वास रोग, क्यान्सर वा मधुमेह, जस्ता पहिले नै अन्य रोग लागेका व्यक्तिहरूमा अझ बढी गम्भीर प्रभाव पर्ने जोखिममा हुन्छन् ।

कोरोना एक सङ्क्रमित व्यक्तिबाट उनीहरूले सास फेर्दा, खोक्दा वा मानिस, सतह वा खानामा हाछ्युँ गर्दा निस्कने छिटाबाट सर्ने गर्छ । यो मुख, नाक र आँखा हुँदै शरीरमा प्रवेश गर्दछ । शरीरमा प्रवेश गरिसकेपछि यसले आफ्नो संख्या वृद्धि गर्न थाल्छ र अन्य क्षेत्रहरूमा फैलन्छ । रोगका बाहिरी लक्षणहरू देखा पर्नु अघि कोरोना 14 दिनसम्म शरीरमा जीवित रहन सक्छन् । त्यसैले, मानिसमा कोरोना हुन सक्छ र यो थाहा नपाउन सक्छ र सो व्यक्तिबाट भाइरस अरूमा सर्छ ।

कोरोनालाई कुनै एन्टिबायोटिक वा घरेलु उपचारद्वारा मार्न सकिँदैन । सम्पर्क नराखेर र बारम्बार हात धोएर मात्र कोरोनाबाट बच्न सकिन्छ ।

सङ्क्रमण रोकथाम गर्न, आफ्नो हात साबुन र पानीले धुनुहोस् । तपाईंका हात फोहोर नदेखिए पनि हात धुनुहोला । साबुनले २० सेकेन्डसम्म बगिरहेको पानीमा जोडले माड्नुहोस्, औंलाका नङमुनिको भाग राम्ररी माड्नुहोस् र सम्पूर्ण हात र नारी धुनुहोस् । साबुन र पानीले आफ्ना हात धुँदा तपाईंको हातमा भएका भाइरसहरू मारिन्छ । खाना तयार गर्दा र त्यसपछि, शौचालय प्रयोग गर्दा, खाना खानु पहिले, बिरामीको हेरचाह गर्दा, जनावर वा जनावरको फोहोर सम्हाल्दा र तपाईंले खोकेपछि, हाछ्युँ गरेपछि वा सिँगान फालिसकेपछि जहिले पनि हात धुनुहोस् ।

आफ्नो हात नधोई आफ्नो आँखा, नाक र मुख नछुनुहोस् । हातले धेरै सतहहरू छुन्छ र भाइरस हातमा आउन सक्छ । दूषित भइसकेपछि, हातहरूबाट भाइरस तपाईंको आँखा, नाक वा मुखमा सर्न सक्छ । त्यहाँबाट, भाइरस तपाईंको शरीरमा प्रवेश गर्न सक्दछ र तपाईं बिरामी हुन सक्नुहुन्छ ।

ज्वरो र खोकी वा अन्य श्वासप्रश्वासका लक्षणहरू भएका मानिसहरूसँग निकट सम्पर्कबाट टाढै रहनु महत्त्वपूर्ण हुन्छ । खोक्दा वा हाछ्युँ गर्दा, जहिले पनि आफ्नो मुख र नाक आफ्नो खुम्चिएको कुहिनो वा टिस्यु पेपरले ढाक्नुहोस् । त्यसपछि प्रयोग गरिएको टिस्यु तुरुन्तै सही ठाउँमा फाल्नुहोस् । सार्वजनिक स्थानमा नथुक्नुहोस् ।

तपाईं र खोक्ने वा हाछ्युँ गर्ने जोसुकै व्यक्ति बीचको दूरी कम्तीमा 1 मिटर (3 फिट) कायम गर्नुहोस् । ज्वरो र खोकी लागेका कसैसँग पनि घनिष्ठ सम्पर्कबाट टाढा रहनुहोस् ।

यदि तपाईंले ज्वरो, खोकी र सास फेर्न गाह्रो भएका व्यक्तिको ख्याल राख्नुपर्ने छ भने, सुरक्षात्मक मास्क वा कपडाको मास्क लगाउन नबिर्सनुहोस् र विशेष गरी हातको सरसफाइको ख्याल गर्नुहोस् ।

कोरोनाबाट बच्नका लागि, अरूसँग शारीरिक सम्पर्कबाट जोगिनु सबैभन्दा सुरक्षित हुन्छ । कोरोना र अन्य भाइरसहरू हात मिलाएर पछि तपाईंको आँखा, नाक र मुख छोएपछि सर्न सक्छन् । त्यसैले अरूलाई भेट्दा, उनीहरूलाई हात मिलाएर, अङ्गालो हालेर वा चुम्बन गरेर अभिवादन नगर्नुहोस् । हात, टाउको हल्लाएर वा निहुरिएर मानिसहरूलाई अभिवादन गर्नुहोस् । यदि तपाईंलाई आफ्नो क्षेत्रमा कोरोना आएको छ जस्तो लाग्छ भने, अरूसँग सम्पर्क हुनबाट जोगिन घरमै बस्नुहोस् ।

टाउको दुख्ने र नाकबाट अलिअलि सिँगान बग्ने जस्ता हल्का लक्षणहरू भए पनि यदि तपाईंलाई अस्वस्थ महसुस हुन थाल्यो भने स्वास्थ्यलाभ नहुञ्जेल घरमै बस्नुहोस् । यदि तपाईंलाई हाछ्युँ आइरहेको छ, सुख्खा खोकी छ, सास फेर्न गाह्रो भइरहेको छ र ज्वरो आएको छ भने, सुरुमै चिकित्सकीय मद्दत लिनुहोस् किनकि यो श्वासप्रश्वास सङ्क्रमण वा अन्य गम्भीर समस्याको कारण हुन सक्छ ।

झूटा विश्वास र कोरोनाका बारेमा अफवाहहरू धेरै खतरनाक हुन सक्छ र यसले मान्छे मार्न पनि सक्छ । उदाहरणको लागि, ब्लीच वा रक्सी जस्ता मादक पदार्थ पिउँदा कोरोना रोक्नुको सट्टा यसले तपाईंलाई हानी गर्नेछ । तपाईंका साथी वा नजिकका आफन्तहरूबाट प्राप्त भएका जानकारी पनि गलत वा खतरनाक हुन सक्छ । आफ्नो स्थानीय स्वास्थ्य निकायबाट प्राप्त सही जनस्वास्थ्य सम्बन्धी सल्लाह मात्र पालना गर्नुहोस् ।

तपाईं यो सन्देश फैलाएर कोरोनासँग लड्न मद्दत गर्न सक्नुहुन्छ । कृपया आफ्ना साथी र परिवारलाई यो कुरा बताउनुहोस्, सकेसम्म व्हाट्सएप जस्ता मेसेजिङ सेवा प्रयोग गरेर ।

यो सामग्री स्वास्थ्य सम्बन्धी ज्ञानलाई बुलन्द गर्न एक विश्वव्यापी परियोजना अडियोपिडिया द्वारा प्रदान गरिएको हो । थप जानकारी www.audiopedia.org मा पाउनुहुनेछ