थोरै पैसामा कसरी स्वस्थकर खानेकुरा खान सकिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%A5%E0%A5%8B%E0%A4%B0%E0%A5%88_%E0%A4%AA%E0%A5%88%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%95%E0%A4%B0_%E0%A4%96%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%81%E0%A4%B0%E0%A4%BE_%E0%A4%96%E0%A4%BE%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

पैसा थोरै छ भने यसलाई बुद्धिमानीका साथ चलाउनुपर्छ। थोरै पैसामा कसरी धेरै भिटामिन, खनिज र प्रोटिन पाउन सकिन्छ भनेर यहाँ केही सुझावहरू दिइएका छन्:

प्रोटिनयुक्त खानेकुरा गेडागुडी, केराऊ, दाल र यस्तै प्रकारका अरू खानेकुरा राम्रो र सस्तो प्रोटिनको स्रोत हो। यदि यी कुराहरूलाई पकाउनु र खानुअघि टुसा उमार्न सकियो भने त्यसमा धेरै भिटामिनहरू पाइन्छ। जनावरबाट पाइने प्रोटिनको सबैभन्दा सस्तो स्रोत अण्डा हो। मासुभन्दा सस्तोमा पाइने कुराहरू कलेजो, मुटु, मृगौला, रगत र माछा हुन् र यी कुराहरू पनि पोषणयुक्त छन्।

अन्‍न चामल, गहुँ र अरू अन्‍नहरू पिस्‍न मिलमा लग्दा त्यसको बाहिरी खोल नहटाएमा ती अन्‍न पोषणयुक्त रहन्छन्।

फलफुल तथा तरकारी फलफुल र तरकारी टिपेपछि तुरून्तै खाएमा त्यसमा धेरै पोषणतत्त्व हुन्छ। फलफुल र तरकारीलाई भण्डार गर्दा ठाउँ चिसो र अँध्यारो हुनुपर्छ। यसो गर्दा त्यसमा भिटामिन रहिरहन्छ। तरकारी पकाउँदा सम्भव छ भने पानी थोरै मात्र हाल्नुहोस्, किनभने पकाउँदा तरकारीको भिटामिन पानीमा जान्छ। त्यसपछि पानीलाई सुपमा वा पिउन प्रयोग गर्न सक्नुहुन्छ।

गाजर र काउली जस्ता तरकारीको पातको वा माथिल्लो भागमा धेरै भिटामिन हुन्छ र यसलाई स्वस्थकर सुप बनाउन प्रयोग गर्न सकिन्छ। उदाहरणको लागि, कसावा अर्थात् तरूल जस्तै तरकारीको पातमा, जरामा भन्दा ७ गुणा बढी प्रोटिन र भिटामिन हुन्छ। जंगलमा पाइने थुप्रै फलफुल र बेरीहरूमा प्रशस्त भिटामिन सि पाइन्छ र त्यसमा प्राकृतिक गुलियोपना हुन्छ र यसले थप भिटामिन र शक्ति प्रदान गर्न सक्छ।

तपाईंसित आफैले तरकारी रोप्‍ने केही ठाउँ छ भने थोरै पैसामा स्वस्थकर खानेकुरा पाउन सकिन्छ।

दूध र दूग्ध सामग्री यी कुराहरू चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ। शरीरलाई बनाउन चाहिने प्रोटिन र क्याल्सियम दूग्ध सामग्रीमा प्रशस्त पाइन्छ।

प्याक गरिएका खाना वा भिटामिनहरूमा पैसा खर्च नगर्नुहोस्। यदि आमाबुबाले किनेर बच्चालाई दिने चकलेट वा सोडा (गुलियो पेय पदार्थ) को पैसाले पोषणयुक्त खानेकुरामा खर्च गरियो भने तिनीहरूको बच्चाहरू त्यति नै पैसामा स्वस्थ हुन सक्छन्।

धेरैजसो मानिसहरूलाई चाहिने भिटामिन खानाबाट नै प्राप्त हुने भएकोले अरू ट्याबलेट वा सुईहरूमा खर्च गर्नुभन्दा पोषणयुक्त खानेकुरामा खर्च गर्नु राम्रो हो। थप भिटामिन खानै पर्ने अवस्था छ भने ट्याबलेटको भिटामिन खानुहोस्। यसले सुईले जत्तिकै काम गर्छ, यो सुरक्षित अनि सस्तो पनि हुन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010412